मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संविधान र कानुनले तोकेको समयसीमाभित्र बजेट पारित गर्नुपर्ने प्रावधानअनुसार मंगलबार गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले बकैयाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
उनले १५ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षामा केन्द्रित योजनाहरू घोषणा गरेका हुन् । गाउँपालिकाले आधारभूत अस्पताललाई प्रदेशस्तरमा स्तरोन्नति गर्ने, २४ घण्टे आकस्मिक सेवा विस्तार गर्ने र घरघरमा निःशुल्क रक्तसञ्चार सेवा पुर्याउने उल्लेख गरेको छ । मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै आत्महत्या निवारण कार्यक्रम, जेठा नागरिकका लागि घरदैलो सेवा र अपाङ्गता भएका व्यक्तिहरूलाई करेक्टिभ सर्जरीको सुविधा पनि प्रस्ताव गरिएको छ।
पूर्वाधार विकास अन्तर्गत १५ स्थानमा पुल निर्माण, ३२ स्थानमा सडक विस्तार, ५ किलोमिटर नयाँ सडक निर्माण, जुरेली खेलमैदानको आधुनिकीकरण र बाढी नियन्त्रणका लागि खोलाका करिडोर व्यवस्थापन तथा ठूला ड्याम निर्माण योजना अगाडि सारिएको छ।
सुरक्षाको दृष्टिकोणले प्रत्येक वडामा सीसीटीभी जडान गर्ने योजना छ। कृषि तथा औद्योगिक क्षेत्रमा बकैया कृषि औद्योगिक ग्राममा कोल्ड स्टोर, टिएमआर उद्योग तथा कृषि प्रशोधन केन्द्र स्थापना गरिनेछ।
गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै समग्र ग्रामीण विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

















