हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार सम्पन्न नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै स्थानीय पूर्वाधार विकासदेखि शिक्षास्वास्थ्य, खेलकुद तथा वातावरणसम्मका बहुआयामिक योजना समेटिएको जानकारी दिएका हुन्।
उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ७ करोड रुपैयाँले बढी हो । बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।
उपमहानगरले नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ, शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बानियाँले जानकारी दिए ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ५० लाख २० हजार रुपैयाँ तथा संस्थागत विकासतर्फ ६३ करोड ५४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
उपप्रमुख बानियाँले विकास योजनामा नागरिक सहभागिता, पारदर्शिता र दिगोपनालाई विशेष ध्यान दिइएको जानकारी दिँदै समावेशी र उत्तरदायी बजेटमार्फत् हेटौँडालाई समुन्नत र आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए।

















