पशु सेवा कार्यालयद्धारा २५ वटा गोरुहरु बोकेको ट्रक नियन्त्रणमा

हेटौँडा हेटौँडा हुँदै बारातर्फ गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । २५ वटा गोरुहरु बोकेको बागतमी प्रदेश ०३–००१ ख १४२४ नम्बरको ट्रकलाई बाराको पथलैयाबाट नियन्त्रणमा लिएको हो ।

हेटौँडा–१५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भइपछि कार्यालयको टोलीले पछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए । सोमबार दिउँसो कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको बताए । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरले बताए ।

छानविनका क्रममा सो गोरुहरु सलार्हीको नवलपुरमा लगेर २ दिन राख्ने र सो पश्चात अर्को ट्रकमा हालेर बंगलादेश पठाउने योजना रहेको प्रमुख ठाकुरले जानकारी दिए । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाको नाममा बिजक जारी गरिएको थियो । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए ।

सो ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्क वापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाई गोरु ढुवानी बापत उक्त शुल्क प्रति गोटा २ सय रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.