हेटौँडा। नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा शुक्रबार हेटौंडामा एक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले गरेका थिए भने प्रमुख अतिथि हेटौंडा महानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ रहेका थिए।
कार्यक्रममा नगर उपप्रमुख बानियाँले रियल इस्टेट व्यवसायीहरूको कामलाई सरकारी निकायले उचित सहजता प्रदान गर्न नसकेको कारण महासंघको स्थापना भएको जानकारी दिए। उनले हेटौंडामा व्यवस्थित बस्ती विकासको प्रबल सम्भावना रहेको कुरा जोड दिँदै, यसमा हेटौंडा उपमहानगरपालिकाले सबै प्रकारका सहयोग उपलब्ध गराउन प्रतिबद्धता जनाएको उल्लेख गरे।
महासंघका अध्यक्ष घिमिरेले हेटौंडामा सडक विस्तारका विषयमा स्पष्ट र व्यवस्थित सोच आवश्यक रहेको टिप्पणी गर्दै, हेटौंडाको मुख्य बजारका भौतिक संरचनाहरु कमजोर रहेको जनाए । उनले हेटौंडालाई व्यवस्थित र समृद्ध शहरको रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए।
अन्तरक्रिया कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विदुर धमला र उपाध्यक्ष दिपक कुँवरले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगको रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए । साथै, महासंघ तीनवटै सरकारसँग सहकार्य गर्दै रियल इस्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउने दिशामा काम गर्न प्रतिबद्ध रहेको बताए । कार्यक्रमको अवसरमा महासंघका सदस्यता लिने कम्पनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

















