इन्द्रसरोवरको ४२ करोडको बजेट, पर्यटन र कृषिलाई विशेष प्राथमिकता

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १७ औँ गाउँसभामा उपाध्यक्ष उमा लामाले बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँसभाले नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। ‘सुखी र समृद्ध इन्द्रसरोवर’ निर्माणको लक्ष्यसहित गाउँपालिकाले पर्यटन, कृषि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ। नेपालकै ठूलो मानव निर्मित ताल कुलेखानी जलाशयलाई केन्द्रमा राखेर होमस्टे प्रवर्द्धन, पर्यटकीय पदमार्ग निर्माण तथा पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

त्यसैगरी, बेमौसमी तरकारी, फलफूल खेती र मत्स्यपालन प्रवर्द्धनका लागि पकेट क्षेत्र निर्धारण गरिने भएको छ। काठमाडौं जोड्ने सडकहरूको स्तरोन्नति, डिजिटल सेवा विस्तार, स्वास्थ्य सेवा सुदृढीकरण तथा दलित, जनजाति र महिलाका लागि सीपमूलक तालिमलाई समेत आगामी बजेटले प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.