हेटौँडा । इन्द्रबहादुर बानियाँले मातृभाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । तेस्रो प्रदेश भाषा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रको महत्वपूर्ण पहिचान भएको उल्लेख गरे ।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको स्मरण गराउँदै भाषिक अधिकारको सम्मान र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । उनले बागमती प्रदेश सरकारले नेपाली भाषासँगै तामाङ र नेपाल भाषा (नेवारी) लाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याएको जानकारी दिए ।
उनले मातृभाषाको शिक्षा, प्रयोग र सम्मानलाई संस्थागत गर्दै बहुभाषिक नीतिलाई व्यवहारमा उतार्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । यस कदमले नागरिक र सरकारबीचको सम्बन्ध अझ सुदृढ, जनमुखी तथा सेवामुखी बन्ने विश्वास पनि उनले व्यक्त गरे ।
प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रमसहित मनाइरहेको छ। दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा समेत दिइएको छ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार बागमती प्रदेश सरकारले २०८१ वैशाख २४ गतेदेखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। उक्त ऐन २०८० कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो भने १८० दिनपछि कार्यान्वयनमा आएको थियो।















