मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१८ ठुलोदमार स्याउलीबजार क्षेत्रबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
हिजो मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले धरान–चतरा सडकखण्ड अन्तर्गत पर्ने उक्त स्थानबाट ४ ग्राम ९४० मिलिग्राम खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका–४ छतिवनका ३९ वर्षीय सोमबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बा.प्र.०३–००५ प ३१०१ नम्बरको मोटरसाइकल रोकी खानतलासी गरेको थियो। सो क्रममा मोटरसाइकलमा सवार थोकरको साथबाट उक्त परिणामको लागूऔषध बरामद गरेको हो ।
बरामद गरिएको लागूऔषधसहित मोटरसाइकल र अन्य सम्बन्धित सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका थोकरलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषधसम्बन्धी कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।















