हात्तिसुँढेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलको ठक्करबाट हात्तिसुँढेका ७१ वर्षका खडकबहादुर घलान गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट अनुहार र टाउकोमा चोट लागेका घलानको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेलाई प्रहरी पुग्नु भन्दा अगावै उपचारका लागि चुरेहिल अस्पताल पठाइएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बकैया गाउँपालिका ७ का २५ वर्षीय देवराज वि.क र मोटरसाइकलको पछाडी रहेका बागमती गाउँपालिका ६ का २० वर्षका देवराज धानुकी समेत घाइते भएका छन् । दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घलानलाई ठक्कर दिने देवराज वि.क लाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.