मकवानपुर । गत भदौ २३ र २४ भएको जेन जी प्रदर्शनपश्चात भीमफेदी कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ फर्किएका छन् । कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० जनामध्ये अहिलेसम्म एक सय १३ जना कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए ।
उनका अनुसार, भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म तीन सय २५ कैदीबन्दी कारागार फर्केका छन् । जसमा भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ५६ र अन्य कारागारबाट फरार ६९ गरी तीन सय २५ कैदीबन्दी भीमफेदी कारागार फर्किएका छन् ।
प्रमुख पौडेलले भागेकामध्ये एक सय १३ कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन् भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएको बताए । कारागारबाट फरार भएकामध्ये एक सय ८४ कैदीबन्दी अझै सम्पर्कमा नआएको उनको भनाई छ ।
यसैगरी, उक्त कारागारबाट फरार ३९ जना विदेशी कैदीबन्दीमध्ये हालसम्म १२ जनामात्र फिर्ता आएको र २७ जना अझै फरार रहेको उनले जानकारी दिए ।
उनका अनुसार, कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई सय ६० र (ख) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले जानकारी दिए ।
कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) पुष्कर बोगटीले जानकारी दिए ।

















