हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्तिलोकपथ र हेटौंडा भैसे काठमाडौं रुटमा शुक्रबारदेखि तीन दिनका लागि रातीको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ ।
कान्तिलोकपथमा भोली बेलुका ४ बजेदेखि २० गते बिहान ६ बजेसम्मका लागि रातीको समयमा सवारी साधन संचालन नगर्न सबैलाई आग्रह गरिएको हो ।
यस्तै हेटौंडा भैसे काठमाडौं रुटमा भोली बेलुका ५ बजेदेखि २० गते बिहान ६ बजेसम्मका लागि सबारी साधन संचालन रोक्न आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् । मौसम विज्ञान विभागले गत १५ गते जारी गरेको मौसम पुर्व अनुमान सूचनाका आधारमा प्रशासनले सुरक्षा सतर्कता अपनाउन रातीको समयमा पहिरोको जोखिम रहेको राजमार्गमा सवारी साधन संचालन रोक्न सूचना जारी गरेको हो ।
यस्तै नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई धनजनको क्षतिहुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ । जिल्लाका सबै सुरक्षा निकाय, स्थानीत तह र स्वयम् सेवकलाई विपद् व्यवस्थापन र पुर्ब तयारीका लागि समन्वय गर्न समेत आग्रह गरिएको प्रजिअ श्रेष्ठले बताएकी छन् ।
















