मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–६ सिरवानमा एक वृद्ध मृत अवस्थामा फेला परेकी छन् । स्थानीय ७० वर्षीया कान्छीमाया थिङ मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनी मिति २०८२ असोज ११ गते दिउँसो करिब ४ बजे बारा जिल्लाको निजगढ नगरपालिका–१२ रामथलीस्थित छोरीको घरबाट आफ्नो घर जाने भन्दै हिँडेकी थिइन् । तर, घरमा नपुगेपछि सम्पर्कविहीन भएकी थिङलाई आफन्तले खोजतलास थालेका थिए ।
सोही क्रममा असोज १२ गते आज दिउँसो करिब १ बजेर ३० मिनेटतिर सिरवान जंगलको गोरेटो बाटोबाट करिब ३५ फिट तल लडेको अवस्थामा उनको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त स्थान उनको घरदेखि करिब ५०० मिटर पश्चिमतर्फ पर्छ । प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का तयार पारी प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















