विश्व रेबिज दिवसको अवसरमा पशु सेवा कार्यालय मकवानपुरद्वारा खोप कार्यक्रम सञ्चालन

हेटौँडा । पशु सेवा कार्यालय मकवानपुरले रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । विश्व रेबिज दिवस २०२५ को अवसरमा स्थानीय तहको पशु सेवा शाखा मार्फत् रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

असोज ६ गतेदेखि सुरु भएको रेबिज विरुद्धको खोप कार्यक्रम १२ गतेसम्म सञ्चालन हुने कार्यालय प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए । उनका अनुसार, अहिले पशु सेवा कार्यालयले दैनिक २० देखि ३० वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइरहेको छ ।

कार्यालयका तीन जनाको समूह बनाएर स्थानीय तहका प्राविधिकहरूसँग आवश्यक समन्वय र सहकार्य गरेर रेबिज विरुद्धको खोप लगाउने काम भइरहेको उनले बताए ।

रेबिज भएका कुकुर, स्याल, लगायतका जङ्गली जनावरको टोकाइबाट रेबिज लाग्ने उनले बताए । उनका अनुसार, रेबिज रोग लागेको जनावरले टोकेको अवस्थामा र्यालको माध्यमबाट, घाउ, चोटपटक लागेको छालामा चाटेमा वा र्याल पर्न गएमा रेबिज सर्ने गर्दछ ।

पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट मकवानपुरमा गत वर्ष तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा जिल्लाको थाहा नगरपालिकामा दुई जना र मकवानपुर गढी गाउँपालिकाका एक जना रहेका छन् । उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.