प्रेस युनियन मकवानपुरद्वारा कुर्सी र फ्यान हस्तान्तरण

हेटौंडा । नेपाल प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान अन्तर्गत प्रेस युनियन मकवानपुर शाखाले सञ्चारिका समूह नेपाल मकवानपुरलाई कुर्सी र नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखालाई फ्यान हस्तान्तरण गरेको छ ।

युनियन मकवानपुर शाखाले आज हेटौँडामा एक कार्यक्रमबीच सञ्चारिका समूहलाई १० थान कुर्सी र नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखालाई फ्यान हस्तान्तरण गरेको हो ।

कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता भएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले प्रेस युनियनले सञ्चालन गरेको अभियानले पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दै लोकतन्त्रको रक्षा र समृद्ध समाज निर्माणमा पत्रकारको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सुबाश बिडारीले स्वागत मन्तव्य राखेका थिए । उनले पत्रकारको हक अधिकार र पेशागत हितका लागि युनियन सदैव अगाडि रहेको भन्दै सहकार्यका यस्ता कार्यक्रमले सबै सञ्चार संस्था र पत्रकारलाई हौसला दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यसले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास हामीले गरेका छौं ।’

कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिक समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उनीहरुले आ–आफ्ना धारणा राख्दै पत्रकारिता व्यवसायको सशक्तीकरण र संस्थागत विकासका लागि सहकार्य र आपसी सहयोगलाई अपरिहार्य बताएका थिए । प्रेस युनियन मकवानपुरले थालेको एक सय दिने सदस्यता अभियान केवल संख्यात्मक वृद्धिको अभियान मात्र नभई संगठनलाई सबल बनाउन, सदस्यबीचको एकता बढाउन र पत्रकारिता क्षेत्रलाई अझ संगठित बनाउनकै लागि गरिएको सराहनीय कदम भएको उनीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.