मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले हेटौँडा–२ स्थित पुरानो मनकामनापथमा डेरा गरी बस्ने २१ वर्षीय अंकित दोङलाई अवैध नाइट्राभेटसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । प्रहरीले उनको कोठा खानतलासीको १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल फेला पारेपछि निजलाई पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले हेटौँडा–१२ का २२ वर्षीय नविन श्रेष्ठ र २६ वर्षीय विजय बललाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट लागूऔषध नाईट्राभेट २२ ट्याब्लेट र ९ बट्टा चुरोट बरामद गरेको छ । हेटौँडा–११, झोलुङ्गे पुलस्थित कान्छा बलको घुम्ती पसल फुटाएर सामान चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका उनीहरुको शरीर खानतलासीको क्रममा लागूऔषध फेला परेको हो ।
यसैगरी, हेटौँडा–२, सानोपोखराचोकस्थित चिया पसलबाट अवैध लागूऔषध ट्रामाडोलसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले भीमफेदी गाउँपालिका घर भई हाल सानोपोखरामा चिया पसल गरी बस्ने वर्ष ४२ वर्षीया सरस्वती मुक्तान, १९ वर्षका रोजन मुक्तान र भारतको मोतीहारी बस्ने २३ वर्षका सुल्तान खानलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
उनीहरुलाई लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लुकाएर राखेको अवस्थाको १८८ क्याप्सुल लागूऔषध ट्रामाडोल र ५० ग्राम गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
लागूऔषधसहित पक्राउ परेका सबैलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

















