मकवानपुर । बागमती प्रदेशमा पछिल्लो १० वर्षको अवधिमा विपद्को विभिन्न घटनामा परे ३ सय ३८ जनाको मृत्यु भएको छ । देशमा २०७२ देखि २०८१ सालसम्म मनसुनजन्य विपद् बाढी–पहिरो, चट्याङ जस्ता घटनामा परेर ३ सय ३८ जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ३ सय ८७ वटा विपद्को घटनामा परेर उनीहरुको मृत्यु भएको हो । यस्तै, उक्त घटनामा परेर १ सय ५७ जना अझै बेपत्ता छन् ।
विपद्को घटनामा परेर सबैभन्दा धेरै पहिरोमा परेर मृत्यु भएका छन् । सो अवधिमा पहिरोमा परेर २ सय ४५ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता र १ सय ४५ जना घाइते भएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।
यसैगरी, चट्याङका कारण ५८ जनाको मृत्यु भएको छ भने ४ सय ३ जना घाइते भएको सूचना अधिकारी कार्कीले बताइन् । यस्तै, प्रदेशमा बाढीका कारण पनि ठूलो जनधनको क्षति भएको छ । सो अवधिमा २ सय ६१ वटा बाढीका घटनामा ५६ जनाको मृत्यु, ८२ जना बेपत्ता र १ सय ८ जना घाइते भएका छन् ।
भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते र कयौं भौतिक संरचनामा क्षति पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार, सो अवधिमा विपद्का कारण ३ हजार ३ सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त भएक छन् भने १ सय १० वटा सरकारी भवन, ४२ वटा गोठ संरचाना र १ हजार १ सय ६९ वटा पशुचौपाया क्ष्ति भएको छ ।

















