हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित पूर्व–पश्चिम राजमार्गमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ निवासी ४५ वर्षीय दिपेन्द्र कुमार झा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, गएराती बुद्धचोकबाट थानाभ्याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनापश्चात घटनास्थलमा खटिएको ट्राफिक प्रहरीको टोलीले गम्भीर घाइते अवस्थामा भेटिएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारको क्रममा राति नै चिकित्सकले झालाई मृत घोषित गरेको प्रवक्ता अर्यालले बताए ।
मृतक यादवको शव हाल हेटौँडा अस्पतालमै राखिएको र दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।

















