मकवानपुरमा ठूला परिमाणका लागूऔषधसहित चार जना नियन्त्रण

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध  कारोबार र भण्डारणमा संलग्न रहेका चार जनालाई फरक–फरक घटनामा  ठूलो मात्रामा लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

पहिलो घटना मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ ठुलोवारीमा घटेको हो । यस्तै, हिजो असार १८ गते दिउँसो करिब ३ः३० बजे लागूऔषध गाँजा लुकाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले ५५ वर्षीय अर्जुन रुम्बालाई नियन्त्रणमा लिएको  मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी टोलीले रितपूर्वक उनको शरीर र घर नजिकै रहेको गोठको खानतलासी गर्दा घाँस र स्याउलामुनि लुकाएर राखिएको अवस्थामा १६८ किलो ३० ग्राम गाँजा फेला परेको प्रवक्ता अर्यालले बताए ।

उक्त गाँजा बरामद गरिएपछि प्रहरीले अर्जुन रुम्बालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

त्यसैगरी, सोही दिन अपराह्न ३ बजे, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ औद्योगिक क्षेत्रभित्र पानी ट्यांकी नजिकैको सडक खण्डमा तीन जनालाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

ना.३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना.२१ प १७१ नम्बरको स्कुटरमा सवार ती व्यक्तिहरूलाई चेकजाँच गर्दा, उनीहरूको साथबाट लागूऔषध ट्रामाडोलका १७७० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा हेटौँडा–१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, हाल हेटौँडा–९ मा डेरामा बस्दै आएका भीमफेदी गाउँपालिकाका २६ वर्षीय कैलाश थापा मगर र हेटौँडा–१३ निवासी ४० वर्षीय सोम स्याङतान रहेका छन्।

उनीहरूलाई पनि नियन्त्रणमा लिई लागूऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।

उनका अनुसार, लागूऔषध कारोबार नियन्त्रण र अपराध न्यूनीकरणका लागि जिल्लामा निगरानी, गस्ती तथा सूचना संकलन कडा पारिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.