हेटौँडामा बसाँइसराई गर्नेको संख्या बढ्यो, जेठ मसान्तसम्म ७४५ परिवार भित्रिए

हेटौँडा । नेपालको संविधान २०७२ अनुसारको नयाँ संरचना अनुरुप मकवानपुर जिल्लाका दश स्थानीय तह मध्येको एक हेटौँडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानीको रुपमा अवस्थित रहेको छ ।

नेपालको मध्य भाथमा रहेको हेटौँडालाई वि.सं.२०२६ सालमा नगर पञ्चायत घोषणा गरिएको थियो । २०७१ साल मंसिर १६ गतेको नेपाल सरकारको निर्णयबाट हेटौंडा उपमहानगरपालिका स्थापना भएको थियो ।

संविधानले जनसंख्या व्यवस्थापनको कार्यलाई संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारीमा राखेको छ । नागरिकको गुणस्तरीय जीवनयापनका लागि अवसरहरूको वृद्धि गर्न संविधानमा भएका व्यवस्था र विभिन्न दीर्घकालीन योजना, कार्ययोजना र नीतिहरू कार्यान्वयनमा रहेका छन् ।

संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारको कार्य विस्तृतीकरणले योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापनलाई संघ र प्रदेशको साझा जिम्मेवारीमा राखेको छ । व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइ) सम्बन्धित तथ्याङ्क व्यवस्थापन गर्ने कार्य संघ, प्रदेश र स्थानीय तहको अधिकारको राष्ट्रिय कार्यसूचीमा रहेको छ ।

संघीयताको दोश्रो कार्यकालको दौरानमा रहेको बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म ७४५ जना परिवारको संख्या बसाँइसराई गरी आएका छन् । उपमहानगरपालिकाले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको तथ्यांक अनुसार ७४५ जना परिवारको संख्या अन्य जिल्लाहरुबाट बसाँइसराई गरी आएका हुन् ।
त्यसैगरी, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३६ जनाको परिवारको संख्या बसाँइसराई गएको तथ्यांकले देखाएका छन् ।
पछिल्लो समयमा हेटौँडा उपमहानगरपालिकामा विकासले फड्को मारेसँगै बसाँइसराई गरी आउनेको संख्या बढेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाका बागमती प्रदेशको राजधानी हुनका साथै शैक्षिक क्षेत्र , स्वास्थ्य र रोजगारीको क्षेत्रमा उल्लेख्य सुधार भएपछि हेटौंडामा चहलपहल बढेको दाबी गरे ।

‘हेटौँडा पछिल्लो समय शैक्षिक मात्रै नभई स्वास्थ्य र रोजगारीको क्षेत्रमा पनि धेरै अगाडि छ । बागमती प्रदेशको राजधानी भईसकेपछि अझै हेटौंडामा चहलपहल बढेको छ, ’ प्रवक्ता न्यौपानेले भने , ‘हेटौँडाको विकास र सेवा सुविधाका कारण पनि बसाँइसराईगरी आउनेको संख्या बढेको छ ।’

बसाँइसराई गरी आउने स्थानीय तहहरुमध्ये हेटौँडा उपमहानगरपालिका नेपालकै १४ औं उपमहानगरपालिका रहेको  प्रवक्ता न्यौपानेले बताए ।

१९ वटा वडा रहेको हेटौँडा उपमहानगपालिकामा राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार, उपमहानगरपालिका कुल जनसंख्या १ लाख ९३ हजार ५७६ रहेको छ भने ४६ हजार ५६६ घरधुरी रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.