हेटौंडा । मकवानपुरगढी गाउँपालिका अन्तर्गतको शारदा माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा २०८१ मा शत प्रतिशत सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षा दिएका सबै २५ जना विद्यार्थीले श्रेणी प्राप्त गर्दै उत्कृष्ट नतिजा ल्याएका हुन्।
गाउँपालिकाका १० वटा सामुदायिक विद्यालयबाट यस वर्ष कुल २१३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। सार्वजनिक नतिजाको विश्लेषण गर्दा सबैभन्दा उत्कृष्ट नतिजा शारदा माविको देखिएको हो। भानु माध्यमिक विद्यालयबाट २४ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये १७ जना सफल र ७ जना असफल भएका छन्। जनता माध्यमिक विद्यालयबाट २१ जना सहभागी हुँदा १२ जना सफल र ९ जना असफल भएका छन्।
बंशगोपाल माध्यमिक विद्यालयबाट १७ जनाले परीक्षा दिएकोमा ७ जना मात्र श्रेणी प्राप्त गर्न सफल भए भने १० जना असफल भएका छन्। रुपनारायण माध्यमिक विद्यालयमा २१ जना विद्यार्थी सहभागी हुँदा १२ जना सफल र ९ जना असफल भएका छन्। मनकामना माध्यमिक विद्यालयबाट १६ जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये ३ जना मात्र सफल र १३ जना असफल भएका छन्। चण्डिका माध्यमिक विद्यालयबाट ४५ जना परीक्षामा सहभागी हुँदा १० जना मात्र सफल र ३५ जना असफल भएका छन्।
रानिसेरा माध्यमिक विद्यालयमा १२ जना सहभागी भएकामध्ये ४ जना सफल र ८ जना असफल भएका छन्। जलादेवी माध्यमिक विद्यालयबाट १४ जना सहभागी हुँदा ७ जना सफल र ७ जना असफल भएका छन्। जनक माध्यमिक विद्यालयबाट ३१ जनाले परीक्षा दिँदा ६ जना मात्र सफल र २५ जना असफल भएका छन्। समग्रमा गाउँपालिकाभित्रका २१३ जना सहभागी विद्यार्थीमध्ये ९३ जनाले मात्र श्रेणी प्राप्त गर्न सफल भएका छन् भने १२० जना असफल भएका छन्।
यसअनुसार गाउँपालिकाको कुल सफलताको दर ४३ दशमलव ६६ प्रतिशत रहेको छ। गाउँपालिकाले आगामी वर्षहरूमा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न आवश्यक योजना तथा कार्यक्रम अघि बढाउनु पर्ने देखिएको छ ।


















