मकवानपुर । मकवानपुरमा वृद्धलाई ठक्कर दिएर भागेको गाडी चालकलाई सीसीटीभी फुटेजको आधारमा पक्राउ गरेको छ ।
थाहा नगरपालिका– १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा गएराति वृद्धलाई ठक्कर दिएर भागेको बा।प्र। ०३–००१ च १७८७ नम्बरको गाडी चालकलाई थाहा नगरपालिका २ फाँट बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, गाडी चालक वर्ष २२ का प्रकाश तामाङलाई उक्त ठक्कर दिने गाडीसहित नियन्त्रणमा लिएको हो । साथै प्रहरीले गाडीमा सवार थाहा नगरपालिका– २ का १८ वर्षीय सुजल कार्कीलाई पनि पक्राउ गरेको छ ।
गाडीले ठक्कर दिँदा थाहा नगरपालिका ६ का ७१ वर्षीय सीताराम महर्जनको मृत्यु भएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका महर्जनलाई स्थानीय वज्रबाराही स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो। सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















