हेटौँडा । नेकपा एमाले मकवानपुरले विपद् प्रतिकार्य द्रुत टोली (स्वयंसेवक दस्ता) गठन गर्ने भएको छ । विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले एमाले मकवानपुरले जिल्लास्तरको ६५ सदस्यीय विपद् प्रतिकार्य द्रुत टोली गठन गर्न लागेको हो ।
बिहीबार पार्टी कार्यालयमा सम्पन्न पार्टीको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य विभाग तथा जनसंगठन समन्वय संयन्त्रको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय विपद् प्रतिकार्य टोलीसमेत निर्माण गर्ने योजना अघि सारेको छ। विभाग प्रमुख दाहालका अनुसार यी टोलीहरूलाई तालिम दिएर विपद् पूर्वानुमान, पूर्वतयारी तथा संकटपछिको तत्कालीन उद्धार र समन्वयमा खटाइनेछ।
टोली गठनसँगै पार्टीले शीघ्र विपद् प्रतिकार्य तालिमको तयारीसमेत गरिरहेको जनाइएको छ।
जिल्ला विपद् विभाग प्रमुख शिवहरि दाहालको अध्यक्षतामा बसेको बैठकमा मकवानपुर पार्टी इञ्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो।

















