हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–१, कुन्छालस्थित चित्लाङ–चन्द्रागिरी सडकखण्डमा सवारी ठक्करबाट एक वृद्धको ज्यान गएको छ।
थाहा नगरपालिका–६ बज्रबाराही निवासी अन्दाजी ७०/७१ वर्षीय सिताराम महर्जनलाई बिहीबार दिउँसो करिब ३ बजे सडक छेउमा हिँडिरहेको अवस्थामा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई फरार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका महर्जनको शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई प्राथमिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बज्रबाराहीमा लगिएको थियो। तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि सोही दिन साँझ करिब ५ बजे शसस्त्र प्रहरी अस्पताल, सतुङ्गल काठमाडौं पुर्याइएको र चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। ठक्कर दिने सवारी साधनको खोजीका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वमा टोली परिचालन गरिएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

















