मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार लामिटारस्थित गाउँपालिकाको सभाहलमा सम्पन्न १७ औं गाउँसभा अधिवेशनमा पालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले बजेट प्रस्तुत गरेकी हुन्।
गत वर्षको तुलनामा यस वर्ष करिब १० करोड रुपैयाँ कम बजेट प्रस्तुत गरिएको हो । चालु आर्थिक वर्षमा ९७ करोड २७ लाख २८ हजार ६ सय रुपैयाँको बजेट रहेको थियो ।
पालिकाले कुल आयमध्ये आन्तरिक स्रोत तथा बैंक नगद अल्याबाट २६ करोड २ लाख ९० हजार ४६४ रुपैयाँ, संघीय सरकारबाट ५२ करोड ५४ लाख ५४ हजार ५३६ रुपैयाँ (वित्तीय समानीकरण, सशर्त, समपुरक, विशेष र राजस्व बाँडफाँट), प्रदेश सरकारबाट ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ (समानिकरण, सशर्त, समपुरक तथा सवारी कर बाँडफाँट), अन्य संस्थागत आन्तरिक अनुदानबाट १५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, पालिकाले पूर्वाधार विकासतर्फ ३३ करोड ११ लाख ८५ हजार, सामाजिक विकासतर्फ ३० करोड ४६ लाख ९३ हजार, वित्तीय सुशासन तथा संस्थागत विकासतर्फ ६ करोड ४ लाख ३ हजार, आर्थिक विकासतर्फ ४ करोड ५५ लाख ४८ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ४५ लाख ६० हजार र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १२ करोड ८ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
यसैगरी, विषयगत कार्यक्रमका लागि ९ करोड ८३ लाख २८ हजार, वडास्तरीय योजनाका लागि ४ करोड ९० लाख, गाउँपालिका स्तरीय पूर्वाधार योजनाका लागि २७ करोड ९४ लाख ६७ हजार रुपैयाँ छुट्याइएको छ ।

















