हेटौँडा । मकवानपुरको हेटौँडामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि विद्यालयस्तरीय शिक्षकलाई प्रशिक्षण दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा शिक्षकलाई ट्राफिक सचेतना प्रशिक्षण दिइएको हो ।
तालिममा उपमहानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये १ सय २० वटा विद्यालयका प्रतिनिधि शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तारको अन्यौलताले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइन् ।
प्रदेश प्रहरी प्रमुख डिआईजी अरुण पौडेल, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको आतिथ्यता रहेको थियो ।
सो क्रममा ट्राफिक विद्यालय समन्वयकर्ता कञ्चन शर्मालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

















