हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गत जेठ ३१ गते बिहान ११ बजे हेटौँडा उपमहानगरपालिका–२ स्थित पुजा श्रेष्ठको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा २४ वर्षीय पुजा श्रेष्ठ, २० वर्षीय रिकेश तन्दुकार र २४ वर्षीय रितिक भनिने राजिब तन्दुकार रहेका छन् । उनीहरूको साथबाट १ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यसैगरी, सोही दिन साँझ ७ः३० बजे राक्सिराङ गाउँपालिका–१ बाट अवैध लागूऔषध अफिम र कटुवा पेस्तोल बरामद गरेको छ । प्रहरीले प्लास्टिकले बेरेर राखिएको सेतो बोराबाट एक थान घरेलु कटुवा पेस्तोल, त्यसमा लाग्ने ५ राउन्ड गोली, र अफिम १ किलो ४८० ग्राम बरामद गरेको हो ।
स्थानीय स्थानीय चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखको फेदबाट सो परिणामको अवैध लागूऔषध अफिम र कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले ती हातहतियार तथा लागुऔषध नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको बताएको छ ।
















