हेटौँडा सिमेन्टमा चरम बेथिति, तीन मजदुर युनियनको संयुक्त विरोध

हेटौँडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा चरम बेथिति र अनियमितता रहेको भन्दै तीनवटा मजदूर युनियनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्।

समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, र अखिल नेपाल औद्योगिक मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उद्योग व्यवस्थापन तथा केही कर्मचारीहरूको भूमिकामाथि प्रश्न उठाएका छन्।

विज्ञप्तिमा नवौं तहका एक कर्मचारीले अधिकार क्षेत्र नाघी उद्योग प्रमुखको आदेशबिना मौखिक निर्देशनमार्फत सिमेन्ट बिक्री प्रक्रिया अवरुद्ध गराएको आरोप लगाइएको छ।

सिमेन्ट उद्योगको बिक्री निर्देशिका विपरीत उधारोमा सिमेन्ट बिक्री गरिएको र यसबापत ३ करोड ८८ लाख रुपैयाँ असुल्न बाँकी रहेको उल्लेख गरिएको छ। तर उद्योगले जानीजानी १ करोड ४२ लाख रुपैयाँ मात्र असुल प्रक्रिया अघि बढाएको भन्दै उद्योग नेतृत्वमाथि गम्भीर प्रश्न उठाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, उद्योगमा प्रयोग हुने कोइला र अन्य कच्चा पदार्थ बजार दरभन्दा महँगोमा खरिद गरिँदै आएको छ, जसले उत्पादन लागत बढाएर प्रतिस्पर्धी बजारमा उद्योगलाई कमजोर बनाएको छ।

भैंसे खानीसम्मको रोपवे कवाडी मूल्यमा बिक्री गरिएको, उद्योग बाहिर रहेका सामग्रीहरू तथा हराएका ट्रान्सफर्मरहरूको अवस्थाबारे कुनै स्पष्ट जानकारी नभएको, र यी सबैमा व्यवस्थापन र ठेकेदारबीच मिलेमतो रहेको आशंका व्यक्त गरिएको छ।

विज्ञप्तिमा उद्योगभित्र भइरहेका अनियमितता र लापरवाहीका घटनाहरूको तुरुन्त छानबिन गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । साथै, उद्योगलाई पारदर्शी, नाफामूलक र कर्मचारीमैत्री बनाउने दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.