हेटौंडा । पेन्गोलिन ओपन स्काउट क्रियुले हेटौंडामा अभिमुखीकरण कार्यक्रम गरेको छ । क्रियुले अंग्रजी वर्षको फेब्रुअरी महिनाको तेश्रो शनिबार मनाईने विश्व पेन्गोलिन (सालक) दिवसको अवसरमा ‘सालक संरक्षणमा युवा’ भन्ने नाराकासाथ सालक बारे जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
मकवानपुर जिल्लाको गौरवको रुपमा सालकलाई लिनुपर्ने अभियान्ताको रुपमा युवा स्काउटहरुलाई समेटेर अभिमुखीकरण कार्यक्रम गरिएको सालक संरक्षण अभियान्ता तथा पेन्गोलन ओपन स्काउट क्रियुका रोभर लिडर अशोक सारु मगरले बताए । उनका अनुसार समुदाय स्तरबाट जनचेतनामुलक कार्यक्रमहरु गर्दे स्काउटका हरेक कार्यक्रमहरुमा सालकको बारेमा जानकारी दिँदै सालक संरक्षणका लागि रचनात्मक कार्यक्रम समेत गर्ने गरेको छ ।
सालक लजालु स्वभावको निशाचर स्तनधारी प्राणी हो । कत्ला आकारको खपडाले ढाकेको शरीर भएको जनावर हो भने प्राकृतिक रुपमा नै रहेका धमिरा र किराहरु खाएर बाच्ने जमिन मुनि बस्ने प्राणी हो । विश्वभर ८ प्रकारका प्रजातिका पेन्गोलिन पाईन्छ । नेपालमा ४५ जिल्लामा पाइन्छ त्यसमा पनि चाइनिज पेन्गोलिन (कालो सालक) र इन्डियन पेन्गोलिन (तामे सालक) २ वटा प्रजाति बढी पाईन्छ ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले यसलाई संरक्षित स्तनधारी जनावरमा राखेको छ । तामे सालकलाई संकटापन्न र कालो सालकलाई अति संकटापन्न श्रेणीमा राखेको छ । विभिन्न अन्धविश्वास र औषधि बनाउने र विलासिताका सामानहरु बनाउन मासुु र खपटाको लागि सालकको चोरी सिकारी हुने गर्दछ ।
कानुनी हिसाबमा उच्च प्राथमिकतामा गैडा, बाघ र हात्तिहरुलाई राखे जस्तै सालकलाई पनि चोरी निकासी गरेमा राष्ट्रिय निकुञ्ज ऐन २६ अनुशार १–१० लाख सम्म जरिवाना र १ देखि १५ बर्ष सम्म कैदको व्यवस्था गरेको छ । तर पनि सरकारले र राष्ट्रिय निकुञ्जले सालकको संरक्षण र प्रचारप्रसारमा धेरै आर्थिक लगानी गरेको नदेखिएको उनको भनाई छ ।


















