हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ । बिहिवार उपमहानगरपालिकाको ५६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमा सिंहले हेटौंडालाई पुर्ण रुपमा बालमैत्री घोषणा गरे ।
बालमैत्री घोषणा कार्यक्रमको सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले समाजमा रहेका कुरिती हटाउन अघि बढेको हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन युक्त घोषणा गर्न सफल भएको बताए । नगरपालिकाहरुमध्ये बागमती प्रदेशको राजधानी भएका कारणले पनि हेटौंडा महत्वपुर्ण उपमहानगरपालिका भएको उनले बताए ।
सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले घोषणाभन्दा पनि दिगोपनमा गम्भीर बन्न आग्रह गरे ।
यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउने आफुहरुको सपना रहेको बताए । महानगरको मापदण्ड पुरा गर्न प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको उनले बताए ।
घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये हेटौंडा उपमहानगरपालिकाले ४३ सूचकमा सतप्रतिशत नतिजा प्राप्त गरेको नगर उपप्रमुख राजेश बानिंयाले बताए । १९ वटा वडा रहेको यस उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् । ३६ हजार ८ सय २२ घरधुरी रहेको उपमहानगरपालिकामा १ लाख ७६ हजार १ सय ६३ जनसंख्या रहेको छ ।
उपमहानगरलाई बालमैत्री घोषणा पश्चात् दिगोपनाको लागि नगरस्तरीय पञ्चवर्षीय रणनीतिक योजना समेत तयार पारिएको उपप्रमुख बानिंयाले दाबी गरे ।
यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैंया गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् ।
प्रमुख मिना कुमारी लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा आर्थिक , मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले , उद्योग, वाणिज्य , भुमि तथा प्रशासन मन्त्री शुकुमाया तामाङ, श्रम , रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन , प्रदेश सभा सदस्य इन्द्रबहादुर बाँनिया, एकलाल श्रेष्ठ , प्रेमबहादुर पुलामी , वडाध्यक्षहरुलगायत विभिन्न विधालयका शिक्षक तथा विधार्थीहरुको उपस्थिती रहेको थियो ।

















