हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका दलित जनप्रतिनिधिले जातको आधारमा अझै अपमान सहनुपर्ने अवस्था रहेको बताएका छन् । दलित महिला संघ (फेडो) मकवानपुरले आइतबार हेटौंडामा आयोजना गरेको ‘सन्चार माध्यममा दलित महिला, दलित समुदायका सवाल माथिको प्राथमिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले यस्तो बताएका हुन् ।
हेटौंडा १७ नम्बर वडा सदस्य उर्मिला चुनाराले नदेखिने गरी अझै अपमान सहनुपर्ने अवस्था रहेको गुनासो गरिन् । ‘अन्य वडामा भन्दा हाम्रोमा छुवाछुतको विषय बेसी छ जस्तो लाग्छ’, उनले भनिन्, ‘दलितको क्षेत्रमा बजेट समेत निकै कम छुट्टिने गरेको छ ।’ १० नम्बर वडा सदस्य गोमा सुनारले दलितका लागि छुट्टिने बजेट दलित समुदायसँगै छलफल गरी बनाउनुपर्ने धारणा राखिन् ।
दलित समुदायलाई चुनावको समयमा मात्र खोज्ने र अरु बेला विर्सिने अवस्था रहेको उनको गुनासो थियो । हेटौंडा ८ नम्बर वडा सदस्य रिता मग्रातीले दलित जनप्रतिनिधिलाई गर्ने व्यवहार नै अझै फरक हुने गरेको गुनासो गरिन् ।
उनले कोटा भन्दा पनि सम्मानजन अवस्था निर्माण हुनुपर्ने माग गरिन् । दलित जनप्रतिनिधिसँग पार्टी प्यालेस बाहेक अन्त संगै खाना समेत नखाने अवस्था समाजमा विद्दमान रहेको उनको भनाई थियो । हेटौंडा १७ की प्रकृति परियारले समाजका हरेक क्षेत्रमा दलितको सवाल रहेको जानकारी दिइन् ।
आर्थिक रुपले सशक्त भएमा भेदभावमा समेत कम परिने उनको तर्क थियो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरका मिडियाले दलित अधिकारका विषय उठान गर्दै आएको दावी गर्दै आगामी दिनमा समेत अझ सशक्त ढंगले विषय उठान गरिने प्रतिबद्धता जनाए । ‘पछिल्लो समय विभेद कम हुने क्रममा छ । विभेद निमिट्यान्न हुनुपर्छ भन्ने मिडियाको समेत धारणा छ’, उनले भने, ‘छलफलका क्रममा उठेका विषयलाई रिपोर्टिङको क्रममा समेट्ने प्रयास गर्नेछौं ।’
दलित महिला संघका कोषाध्यक्ष मालती बिश्वकर्माले संविधानमा उल्लेख गरेका विषय कार्यान्वयन हुन नसकेको धारणा राखिन् । समाजमा नदेखिने विभेद धेरै रहेको कार्यक्रमका वक्ताहरुको भनाई थियो । दलित महिला संघ मकवानपुरका उपाध्यक्ष सुनिता दर्नालको अध्यक्षतामा कार्यक्रम भएको हो ।
नेपालमा दलित महिला तथा किशोरीको मानव अधिकार प्रवद्र्धन कार्यक्रम अन्तर्गत फाउन्डेसन फर अ जस्ट सोसाइटीको सहयोगमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा फेडोका परियोजना संयोजक विमला विश्वकर्मा, सामाजिक सहजकर्ता राधिका सुनार लगायतको उपस्थिती रहेको थियो ।

















