हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुरगढी ४ नम्बर वडामा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समुहलाई सम्मान गरेको छ । मंगलबार जिसस मकवानपुरले जिल्ला समीक्षा कार्यक्रम–२०८१ को अवसरमा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहको रूपमा सम्मान गरेको हो ।
वन उपभोक्ता समुहलाइ जिससले मकवानपुर जिल्लामा वन संरक्षण, व्यवस्थापन एवं वन पैदावारको उत्पादन र सदुपयोगमा उल्लेख्य कार्य गरी आयमूलक कार्य मार्फत गरिबी न्यूनीकरणमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान पत्र प्रदान गरिएको मनकामना सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष सर्कलाल लोले जानकारी दिए ।
यस्तै, यसअघि सब–डिभिजन वन कार्यालय मकवानपुरगढी मकवानपुर अन्तर्गतको उक्त वन उपभोक्ता समूह कार्यसम्पादन मूल्यांकनको आधारमा डिभिजन वन कार्यालय मकवानुरद्वारा पुरस्कृत भएको थियो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा मकवानपुर भरिकै २सय १० ओटा सामुदायिक वन उपभोक्ता समूहहरू र १ सय ९४ ओटा कबुलियती वन उपभोक्ता समूहहरु मध्ये सर्बोत्कृष्ट अंक ल्याई प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको अध्यक्ष लोले बताए ।


















