बागमतीमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार साँझ करिब ६ः२० बजे बागमती गाउँपालिका–८ साततलेस्थित मदन भण्डारी लोकमार्गमा फापरबारीबाट हात्तीसुँडेतर्फ जाँदै गरेको प्र.०३–०२–००३ प २६३१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय सरोज घलानका चार वर्षीय छोरा प्रिभेस घलान घरमा खेलिरहेको अवस्थामा एक्कासि सडकमा निस्किएका थिए। सोही क्रममा मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि मोटरसाइकल चालक बकैया गाउँपालिका–३ चिसापानीका करिब २४ वर्षीय दिपक थिङले घाइते बालकलाई उनका अभिभावकसहित उपचारका लागि हेटौंडास्थित सहकारी अस्पताल ल्याएका थिए। बालकलाई साँझ ७ः४० बजे अस्पताल भर्ना गरिएकोमा ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बालकको शव अस्पतालमै रहेको छ। मोटरसाइकल र चालक थिङ प्रहरीको नियन्त्रणमा छन्। चालकको कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.