हेटौंडा । हेटौंडा ६ स्थित चौघडामा रहेको वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा विश्वराज राई चयन भएका छन् । शनिबार भएको छैठौ क्याम्पस सभाले राईको अध्यक्षतामा ८ सदस्यीय नयाँ क्याम्पस सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाई, सदस्यमा पुष्पराज अधिकारी, उदय बिडारी, विक्रम सञ्जेल, शुभद्रा तिमल्सिना, भरत सापकोटा र समाधान सापकोटा चयन भएका छन् । १३ सदस्यीय समितिमा ५ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।
अध्यक्षमा चयन भएका राईले क्याम्पसको संस्थागत एवम् शैक्षिक विकासमा योजनाबद्ध काम गर्ने बताए । सोही अवसरमा क्याम्पसको नवनिर्मित भवनको उद्घाटन समेत गरिएको थियो ।
बागमती प्रदेश सांसद् एकालाल श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् । सांसद श्रेष्ठले शिक्षालाई रोजगारसंग जोड्न सके विदेशमा अध्ययन गर्न जाने विधार्थीलाई रोक्न सकिने बताए ।
शिक्षा र स्वास्थ्यलाई राज्यले अधिकतम बजेट विनियोजन गर्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले स्थानीय क्षेत्रमा सबैभन्दा बढी विकास गरेको दावी गरे । क्याम्पसका अध्यक्ष उज्वल चौलागाईले क्याम्पसको शैक्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा हेटौंडा ६ नम्बर वडाका कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख बद्रीबहादुर पाठक, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरणबहादुर जोशी, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यम सिलवाल, उद्योगी अरुणराज सुमार्गी, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ का अध्यक्ष बासुदेव खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका सचिव नरहरि चौलागाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।
क्याम्पसमा १ सय ७५ विधार्थी अध्ययनरत छन । नवनिर्मित २ तले ५ कोठे क्याम्पस भवन ७५ लाख रुपैयाँको लागतमा निर्माण भएको बताइएको छ ।













