मनहरीमा प्रहरीमाथि आक्रमण गर्ने २ जना पक्राउ, गोली लागेर एकजना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना गोली लागेर घाइते भएका छन्।

बुधबार राति करिब ८:५० बजे लागुऔषध सेवन तथा झैझगडा भइरहेको भन्ने सूचना प्राप्त भएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले घटनास्थलमा रहेका व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले एक्कासी बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट प्र.स.नि. तामाङको दुवै हातमा चोट लागी मध्यम घाइते भएका छन्।

आत्मरक्षाका लागि प्र.स.नि. तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड फायर गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने करिब १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ। घाइते प्रहरी र गोली लागेका तितुङलाई उपचारका लागि चुरेहिल अस्पताल (CMC) मकवानपुरमा ल्याइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएर घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुई जना तथा गोली लागेर घाइते भएका तितुङ विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरी सम्बन्धी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.