हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै सामरी पुलसम्मको सडक विस्तार कार्य भइरहेकाले सो क्षेत्रका जोखिमयुक्त घर–टहरामा कुनै पनि किसिमको व्यापार–व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ । प्रशासनले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
सडक डिभिजन हेटौँडाद्वारा गत मंसिर ५ मा प्रकाशित सूचनाअनुसार उक्त सडकखण्डको विस्तार कार्यका क्रममा मिति मंसिर २० गतेदेखि सडक सीमाभित्र पर्ने घरटहराहरू भत्काइसकिएको र सर्वोच्च अदालतको अघिल्लो आदेशअनुसार सडक विस्तार कार्य हालका लागि स्थगित अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तर, सो क्षेत्रमा अतिक्रमण गरी बनाइएका केही संरचनामा डोजर तथा एक्साभेटर प्रयोगका क्रममा भत्किएका जोखिमयुक्त घर–टहराभित्र व्यक्ति तथा व्यवसाय सञ्चालन भइरहेकाले जनधनको क्षति हुन सक्ने जोखिम देखिएको प्रशासनको ठहर छ ।
त्यसकारण, जोखिमपूर्ण संरचनाभित्र कुनै पनि प्रकारको व्यापार–व्यवसाय सञ्चालन नगर्न, नागरिक र संरचना व्यवस्थापनमा खटिएका कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन तथा जोखिमको अवस्थामा व्यवसाय सञ्चालनबाट उत्पन्न हुन सक्ने कुनै पनि दुर्घटनाको जिम्मेवारी सम्बन्धित घरधनी तथा व्यवसायी स्वयं हुने जारी सूचनामा भनिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकको निर्णयअनुसार सार्वजनिक सूचना प्रकाशित गरी सबै सरोकारवालालाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
हेर्नुहोस् सूचना ।
















