बागमती प्रदेश सभामुखमा दाबी गर्ने कांग्रेसको निर्णय

हेटौँडा । बागमती प्रदेश सभाको सभामुख पदमा दाबी गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ । शुक्रबार हेटौँडामा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बागमती कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

मुख्यमन्त्रीको सरकारी निवासमा बसेको संसदीय दलको बैठकले प्रदेश सभामा रिक्त रहेको सभामुख पदमा दाबी गर्ने निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

गत भदौं २३ र २४ गते भएको जेन जी आन्दोलनपश्चात सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि उक्त पदन रिक्त रहेको छ । यद्यपि, उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । तिहार अघि बस्ने प्रदेश सभा बैठकले सभामुखको राजीनामा स्वीकृत गर्ने तयारी भइरहेको जनाइएको छ ।

यस्तै, बैठकले हालैको मनसुनजन्य विपद् व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी राहत र पुनःस्थापना कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ ।

यसैगरी, बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा समावेश भएको १० लाख रुपैयाँ मुनिका योजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने र १० लाख रुपैयाँ माथिका योजना टेण्डर मार्फत गर्ने निर्णय गरेको संसदीय दलका सचिव महर्जनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.