शहीदको बलिदानलाई अपमानित हुने कुनै सम्झौता नगर्न प्रदेश प्रमुख देवकोटाको चेतावनी

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सम्बोधन गर्दै शहीदहरुको बलिदानलाई अपमानित गर्ने कुनैपनि सम्झौता स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएका छन्। संविधान दिवस २०८२ को अवसरमा बिहीबार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेपाली जनताको लामो संघर्ष, तपस्या र बलिदानको परिणामस्वरूप संविधान जारी भएको स्मरण गर्दै, संविधानको संरक्षण र कार्यान्वयनमा सरकारका सबै तह र नागरिक एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रदेश प्रमुख देवकोटाले संविधानलाई केवल कानुनी दस्तावेज मात्र नभई जनभावना प्रस्फुटन गर्ने सजीव स्वरूपको रूपमा व्याख्या गरे । “संविधानभित्र रहेर विकास, समृद्धि, सुशासन र युवापुस्ताको चाहना पूरा गर्न सकिन्छ। कानुनी राज्यको उपहास हुने गतिविधि कसैले गर्न वा गराउन हुँदैन,” उनले भने ।

उनले सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहितालाई शिरोपर गर्दै प्रत्यक्ष जनताले अनुभूति गर्ने परिणाममुखी कार्यमा जोड दिनुपर्नेमा पनि ध्यानाकर्षण गराए । अधिकारभन्दा पहिले कर्तव्यलाई प्राथमिकता दिन सबै तहका जिम्मेवार व्यक्तिहरूलाई आग्रह गर्दै गत भदौं २३ र २४ गतेको आन्दोलनमा शहादत प्राप्त गर्नेप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

उनले संविधान दिवसले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य, सहअस्तित्व र न्यायमूलक समाज निर्माणमा सबैलाई अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.