भीमफेदी कारागारमा बस्दै आएका एक कैदीबन्दीको मृत्यु

file-photo

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलाल रहेका छन् ।

बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए ।

कारागार प्रमुख पौडेलका अनुसार, दुलालको मृत्युको कारण खुलिसकेको छैन । उनको शव हाल अस्पतालको शव गृहमा राखिएको र शवको पोष्टमार्टम हुन लागेकाले त्यसपछि मात्रै कारण पत्ता लाग्नेछ ।

उनको शवको पोष्टमार्टम भएपश्चात उनको परिवारलाई जिम्मा लगाइने कारागार प्रमुख पौडेलले बताए । उनका अनुसार, कारागारको ‘क’ ब्लकमा बस्दै आएका दुलाललाई बिहान ५ः४० मा श्वासप्रश्वासमा समस्या आएको थियो । तत्काल उनलाई कारागारको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार गरेपछि सामन्य सुधार देखिएको र सुधार भएपछि उनी नुहाउन भनेर ५ः५० बजे बाथरूम छिरेका थिए । त्यसको केही समयमा नै बाथरूममै बेहोस् भएका दुलाललाई तत्काल उपचारको लागि हेटौंडा अस्पताल पठाइएको थियो । दुलालको उपचारकै क्रममा मृत्यु भएको हो ।

दुलाल भीमफेदी कारागारमा १३ साउन २०७९ देखि बस्दै आएको कारागार प्रमुख पौडेलले जानकारी दिए । मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.