व्यवस्था भित्र छिरेर चुनाव लड्नेहरु नै व्यवस्थालाई चुनौती दिन थाल्योः मुख्यमन्त्री बानियाँ

file-photo

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्था भित्र छिरेर चुनाव लड्नेहरुनै व्यवस्थालाई चुनौती दिन थालेको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बुधबार पार्टी कार्यालयमा भएको बधाई, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि जनताको अवस्थामा परिवर्तन आएपनि केही तत्वहरुले गलत भ्रम फैलाइरहेको बताए । उनले राप्रपा र रास्वपा जस्ता दलहरुले संघीयता र गणतन्त्रको विरोध गरिरहेको आरोप समेत लगाए ।

ठुलो संघर्ष र बलिदानबाट प्राप्त व्यवस्थाभित्र रहेर तलब भत्ता खाने तर व्यवस्थालाई बदनाम गराउन खोज्नेहरुसंग जनता सर्तक रहनुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री बानियाँले व्यवस्थालाई नमान्ने हो भने तलब भत्ता नलिन राप्रपा र रास्वपालाई चुनौती समेत दिए ।

जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्ने बताउँदै आफु मुख्यमन्त्री हुनको लागि मात्र नभई जनतालाई सेवा दिनको लागि आएको उनको भनाई छ । उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका विना विभागीय मन्त्री शिवराज अधिकारी, खानेपानी, उर्जा तथा सिचाई मन्त्री कृष्ण कुमार तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

यसअघि मुख्यमन्त्री बानियाँ र कांग्रेसबाट मन्त्री बनेका मन्त्रीहरुलाई कांग्रेस बागमती प्रदेश समितिले स्वागत गरेका थिए  । हेटौँडाको सानो पोखरामा रहेको नेपाली कांग्रेस बागमती प्रदेश पार्टी कार्यालयमा उक्त पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनलगायतले पार्टी सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँलगायत मन्त्रीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.