मकवानपुर । नेपालकै पहिलो बालश्रममुक्त घोषित मनहरी गाउँपालिकामा बालश्रम प्रयोग गर्ने एक वर्कसपलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
मनहरी गाउँपालिका–७, चैनपुररोडस्थित महादुर्गा वर्कसप मा बालश्रम प्रयोग भइरहेको पाइएको थियो । सिविन नेपाल र श्रम तथा रोजगार कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा वर्कसपले बालश्रमिक राखेको पुष्टि भएपछि २५ हजार रुपैयाँ जरिवाना गराईएको हो ।
बालमैत्री गाउँपालिका बनाउने अभियानमा रहेका मनहरीमा अझै बालश्रम देखिनु दुःखद् भएको भन्दै आलोचना भइरहेको छ । विशेष गरी गाउँपालिका बाहिरबाट आएका बालबालिका श्रमिकका रूपमा भेटिन थालेको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बालश्रम अन्त्य गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए । “पालिकाले मात्रै चाहेर बालश्रमको अन्त्य हुँदैन,” उनले भने, “नेपालकै पहिलो बालश्रममुक्त गाउँपालिकालाई व्यवहारमै बालश्रममुक्त बनाउन सबै पक्षको हातेमालो जरुरी छ ।”
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, सिविन नेपालका झविन्द्र ज्ञवालीसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
गाउँपालिकाले बालश्रम नगर्न र नगराउन आग्रह गर्दै कानून उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

















