मकवानपुर । बागमती प्रदेश सरकारले साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्ने तयारी गरिरहेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण सुरु गरिने बताएका हुन् ।
हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको उनले बताए । जनताले पटक–पटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र विचौलिया संस्कृतिको अन्त्य गर्ने प्रदेश सरकारको मुख्य उद्देश्य रहेको उनले बताए ।
उनका अनुसार, गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’ मार्फत् सार्वजनिक गरिएको थियो । उक्त सेवा सुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको बताए ।
नागरिकहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत् भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको उनले बताए ।
बागमती प्रदेशबाट शुरु भएको यो डिजिटल सेवा अब क्रमशः अन्य प्रदेशहरूमा पनि विस्तार हुने समेत मन्त्री महर्जनले बताए ।

















