हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले आफ्नो जन्मदिनको अवसर पारेर १४५ थान पुस्तक विद्यालयलाई सहयोग गरेका छन् । अघिल्ला वर्षहरुमा समेत पुस्तक हस्तान्तरण गर्दै आएका उनले जनप्रिय रिडर्स क्लब मातहत रहने गरी विद्यालयलाई यस वर्ष पनि पुस्तक सहयोग गरेका हुन् ।
जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलाई पुस्तक हस्तान्तरण गर्दै चौलागाईँले जनप्रियले चालेको अभियानले विद्यार्थीको मानसिक क्षमतामा अभिवृद्धि हुनुका साथै पठन संस्कृतिले डिजिटल डिभाइसको अति प्रयोगलाई विस्थापन गर्ने, तार्किक क्षमतामा वृद्धि गर्दै वैयक्तिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
१६ नम्बर वडा सदस्य गुरूप्रसाद दाहाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, शिक्षक अभिभावक संघ अध्यक्ष गीताप्रसाद दुलाल, विभिन्न समितिका सदस्य तथा शिक्षकहरूका साथ हस्तान्तरण पुस्तक हस्तान्तरण गरिएको हो ।
अतिरिक्त विभाग संयोजक युक्तलाल विश्वकर्माले शुभकामना साथ पुस्तकले सूचना र ज्ञानगुन दिने अनि भविष्यको मार्गदर्शन गर्ने बताउँदै विद्यार्थीहरूलाई धेरै सुन्न र थोरै अनि आवश्यक बोल्न सुझाव दिए ।
साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले पठन संस्कृतिको खास रूप नै कक्षाको लाइब्रेरी रहेकोले पुस्तक कक्षा–कक्षामैँ रहने गरी उपहार प्राप्त हुने क्रम बढ्दै गएको र यसले विद्यार्थीमा पढ्ने र त्यसबारे छलफल गर्ने आनिबानीको विकास भएको, निडर भएर बोल्ने क्षमताका साथै लेखन सीपमा सकारात्मक सुधार हुँदै गएको बताए ।
विद्यालयका विभिन्न कक्षामा रहेको बुक र्याकमा पुस्तक राख्ने उद्देश्यले ‘एक व्यक्ति, एक पुस्तक हस्तान्तरण कार्यक्रम’ अन्तर्गत शिक्षक, अभिभावक, विद्यार्थी, साहित्यकार, साहित्यसेवीमार्फत् पुस्तक उपलब्ध भइरहेको बताइएको छ ।

















