हेटौँडाका जनप्रतिनिधिमाथि बारम्बार आक्रमण, फेरी कुटिए वडाध्यक्ष

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका  जनप्रतिनिधिमाथि बारम्बार आक्रमण हुन थालेको छ । केही दिन अघि मात्र हेटौँडा वडा नं.१ का वडाध्यक्ष सविन न्यौपानेमाथि पनि सार्वजनिक रूपमा सांघातिक आक्रमण भएको थियो ।

त्यस घटनाको दुई सातापछि नै उहीँ घटना दोहोरिएको छ । आज हेटौँडा वडा नं. ४ का वडाध्यक्ष नविन सिग्देलमाथि निर्माणस्थलमै कुटपिट भएको छ ।

बिहान करिब साढे ९ बजे हेटौँडा क्याम्पस अगाडि भइरहेको ढल निर्माणको निरीक्षणका क्रममा उनीमाथि स्थानीय निर्माण व्यवसायीले दुर्व्यवहारसहित कुटपिट गरेको हेटौँडा उपमहानगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

वडाध्यक्ष सिग्देलले निर्माण स्थलबाट निस्किएको माटो वडा नं. ४ स्थित श्री श्रमिक माध्यमिक विद्यालय परिसरमा रहेको खाल्डोमा पुर्ने सुझाव दिएका थिए। तर, निर्माण व्यवसायी मञ्जु लामाले माटो अन्यत्र लैजाने अडान राख्दै वादविवादमा उत्रिएर गालीगलौज र हातपात गरेको उपमहानगरपालिकाले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएईको हो ।

यसअघि मिति २०८२ साल असार ४ गते वडा नं.१ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता  न्यौपानेमाथि पनि सार्वजनिक रूपमा सांघातिक आक्रमण भएको थियो। यस्ता श्रृंखलाबद्ध घटनाले उपमहानगरका निर्वाचित जनप्रतिनिधिहरूको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ ।

हेटौँडा उपमहानगरपालिकाले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग राख्दै प्रेस विज्ञप्ति जारी गरेको छ । नगर कार्यपालिकाले विज्ञप्तीमार्फत् पटक–पटक यस्ता आक्रमणले सेवा प्रवाहमा बाधा पुर्‍याएको भन्दै दोषीलाई कडाभन्दा कडा कानुनी सजाय दिन जोडदार माग गरेको हो।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै निर्वाचित जनप्रतिनिधिहरूमाथि हुने आक्रमणको भर्त्सना गर्दै, यसले प्रशासनिक मनोबलमा समेत असर परेको उल्लेख गरेको छ।

भोलि  सम्पूर्ण वडा तथा विभागीय कार्यालयहरू बन्द रहने

भोलि शुक्रबार  हेटौँडा उपमहानगरपालिका मातहतका सम्पूर्ण वडा तथा विभागीय कार्यालयहरू बन्द रहने भएको छ । साथै  जनप्रतिनिधिहरूको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा औपचारिक रूपमा ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.