एकल अधिकारको रुपमा प्रदेशले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको मुख्यमन्त्री लामाको दाबी

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले एकल अधिकारको रुपमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको दाबी गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

उनले प्रदेशको १३ वटै प्रादेशिक अस्पतालहरु सुधारोन्मुख भएर अगाडि बढेको बताउँदै संघीयतापछि स्वास्थ्य क्षेत्रमा सुधार आएको उल्लेख गरे । प्रतिष्ठानको कुलपति समेत रहेका मुख्यमन्त्री लामाले विगतमा संघ सरकारको मातहातमा रहेका अस्पतालहरु अहिले डाक्टर, नर्स उत्पादन गर्ने थलोमा परिणत भएको बताए ।

हेटौँडा अस्पतालको ३ सय बेडको भवनबाट सेवा सुचारु गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै मुख्यमन्त्री लामाले बाहिरी जिल्लाका बिरामीहरुको पनि सहजै स्वास्थ्य सेवामा पहुँच पुग्नु गौरवको विषय भएको धारणा व्यक्त गरे । उनले प्रतिष्ठानबाट उत्पादन भएका जनशक्तिहरुले प्रदेशको गौरव देशमै उचो हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले लोकतन्त्र र प्रजातन्त्र आएपछि डाक्टर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । देशको सबै क्षेत्रमा निजी क्षेत्रको समेत सहभागितामा प्रतिष्ठान, विश्वविद्यालय मार्फत डाक्टर, इन्जिनियर उत्पादन हुन थालेको जिकिर गरे ।

त्यसैगरी प्रतिष्ठानका संस्थापक कुलपति एवम् प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्मलाई बुझ्न नसक्नेहरुले प्रतिष्ठान र हेटौंडा अस्पतालको बीचमा विवाद सिर्जना गरेको बताए । संघीयतापछि सम्पूर्ण जिल्ला अस्पतालहरु प्रादेशिक अस्पतालमा रुपान्तरण भएको उनको धारणा छ । प्रथम मुख्यमन्त्री पौडेलले विगतमा प्रतिष्ठानले विभिन्न मुद्धा मामिला झेल्दै अहिलेको अवस्थामा आइपुगेको बताए ।

त्यसैगरी वाषिकोत्सव समारोहमा बोल्दै श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतिष्ठान, विश्वविद्यालयहरुले प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरेको बताए । प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाको अनुपस्थितिमा उक्त मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री महर्जनले प्रतिष्ठानलाई व्यवस्थित गर्न ऐन, कानुनलाई संशोधन गरिएको समेत उल्लेख गरे ।

कार्यक्रममा उपकुलपति प्रा.डा. प्रदिप ज्ञवालीले प्रतिष्ठानले गतिविधि बारे प्रस्तुतीकरण राखेका थिए । प्रतिष्ठानले यस वर्षदेखि ८ सिट प्राप्त गरी स्नाकोत्तर तहका विभिन्न ७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कुलपति प्रा.डा. ज्ञवालीले जानकारी दिए ।

सो क्रममा नवआगुन्तक एमडि र एमएस तर्फका ८ जना विद्यार्थीहरुलाई स्वागत समेत गरिएको थियो । २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानमा हाल ३ सय ६६ जना विद्यार्थीहरु अध्ययनरत् छन ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.