मकवानपुर । हेटौँडा–काठमाडौं जोड्नी दक्षिणकाली सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, टेकरमा आज बिहान सवारी दुर्घटना भएको छ।
निर्माण कार्यमा खटिएको जेसीभी र ईभी गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०४५७ नम्बरको ईभी गाडी सोही सडकखण्डमा बाटो बनाइरहेको बा.प्र.०१–००३ क ९१६४ नम्बरको जेसीभीको पछाडी भागमा ठोक्किँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर मानवीय क्षति भने भएको छैन। तर, ईभी गाडीको बायाँ साइडको सिसा फुटेको र सोही भागमा क्षति पुगेको जनाइएको छ।
घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक राम प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल सिस्नेरी प्रहरी चौकीबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्छ।
दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















