हेटौँडा । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ समुदायको मौलिक लिपि ‘तामयिग’ सम्बन्धी तीन दिने विशेष प्रशिक्षण कार्यक्रम आजदेखि हेटौँडामा सुरु भएको छ।
तामाङ भाषा र लिपिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रम यहि जेठ ३० गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन सत्र संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा तामाङ पत्रकार संघका केन्द्रीय सचिव आर्दश सिं थोकरको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि थोकरले तामाङ समुदायको मौलिक भाषा, लिपि र संस्कृतिको संरक्षण अत्यन्तै जरुरी रहेको बताए। उनले यस्ता प्रशिक्षण कार्यक्रमले समुदायमा भाषिक चेतना र गर्वको भावना बढाउने विश्वास व्यक्त गरे।
यस्तै, संघका अध्यक्ष जयराम मोक्तानले तामाङ लिपिको प्रयोग अहिलेको पुस्तामाझ हराउँदै गएको अवस्था प्रति चिन्ता व्यक्त गर्दै पत्रकार तथा समुदायका युवाहरूलाई यसको सिकाइ र प्रयोगमा सक्रिय बन्न आग्रह गरे।
प्रशिक्षणमा तामयिक लिपिको परिचय, वर्णमाला, लेखन शैली, उच्चारण र व्यावहारिक प्रयोगबारे अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिइनेछ।
हेटौँडा-२ स्थित जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्री मेन्बर लो, घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, जिला उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका सहायक पाँचौ तुलाराम पाण्डे, आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबा, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामालगायतको सहभागिता रहेको थियो ।
तामाङ पत्रकार संघ मकवानपुरले अघिल्ला वर्षहरूमा पनि विभिन्न यस्ता खाले कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

















