हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संघीय गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन भएको बताएका छन् । प्रदेश प्रमुख देवकोटादे आज गणतन्त्र दिवस–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि हो ।’, उनले भने, ‘जुन नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन हो ।’ ऐतिहासिक जनआन्दोलन २०६२–०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न बनाउँदै सबैलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित भएको उनको भनाई छ ।
प्रदेश प्रमुख देवकोटाले यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे । साथै उनले आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती श्रद्धाञ्जली अर्पण गरेका छन् ।
जारी सन्देशमा भनिएको छ, ‘देशमा सबैखाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनैतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै गणतन्त्र, राष्ट्रियता र जनजिविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रबाह गर्न जरुरी रहेको छ ।’
‘संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरि समृद्ध देश निर्माणका दिशामा सबै लाग्नु पर्दछ । अभ्यासमा कहिँ कतै कमजोरी भए होलान् तर विकल्प व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्दछ । हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा उर्जाशील समय खर्चिन बाध्य भयो तर आजको युवपुस्तालाई आन्दोलन होइन विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नुपर्दछ’ उनले सन्देशमा भनेका छन् ।
गणतन्त्रको मूल मर्म– जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायिपूर्ण शासन प्रणालीको स्मरण गर्नु आवश्यक रहेको औंल्याउँदै उनले समग्र राष्ट्रको प्रगति र समृद्धिका लागि सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नयाँ पुस्तामा निराशाको बादल छाउनु अप्रिय कुरा भएको हुँदा कतै केही कमी कमजोरी भए सच्याएर द्रुत विकासको लय पक्रनुपर्नेमा बताए । आज यस विशेष दिन सबैखाले अस्थिरता र पश्चगमनका विरुद्ध एकजुट हुने दिशामा कोशेढुंगा साबित हुने विश्वास लिएको समेत उनको भनाई छ ।

















