मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार बिहान अस्पताल परिसरको बोर्ड तोडफोडप्रति ध्यानाकर्षण भएको भन्दै प्रतिष्ठानले विज्ञप्तिमार्फत् यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भत्र्सना गरेको हो ।
प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य कानून विपरीत भएको उल्लेख छ ।
हाल १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १५०० भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको अवस्थामा भएको यस प्रकारको गतिविधिले अस्पताललाई पुनः रेफर सेन्टरको रुपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने देखिएको जारी विज्ञप्तिमा भनिएको छ ।
“स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो ।,“ विज्ञप्तिमा भनिएको छ, “र यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ ।’’
प्रतिष्ठानले घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको उक्त प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल सञ्चालनमा छ ।
हेर्नुहोस् विज्ञप्ति ।


















