हेटौंडा । हेटौंडा एडभेन्चर क्लबले कैलाश गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । आईतवार विद्यालयमै पुगेर एक समारोह बिच माविमा अध्यनरत २ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
जाडो मौसममा चिसोले कठ्यांग्री रहेका कलिला बालबालिका देखेर सहयोग गर्ने भावना जागृत भएको क्लबका अध्यक्ष सुशिल सुबेदीले बताए। बालबालिकाहरुलाई क्लबका सदस्यहरुबाट संकलित करिव ९० हजार रुपैयाँ रकम बराबरको न्यानो कपडा बितरण गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम रिमालले जानकारी दिए ।
कालिका माविका प्रधानाध्यापक रामचन्द्र कालाखेलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा माविका शिक्षक, शिक्षिका, विद्यार्थी र क्लबका सल्लाहकार किरण लामिछाने लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि कालाखेतीले क्लबले गरेको कार्यको प्रसंशा गर्दै आगामी दिनमा समेत यस्तै सामाजिक कार्यको लागि शुभकामना दिए । कार्यक्रम क्लबका अध्यक्ष सुशिल सुवेदीको सभाध्यक्षतामा सम्पन्न भयो ।
हेटौंडा एडभेन्चर क्लबले नेपालको ७७ वटै जिल्लामा रहेको विभिन्न धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै आइरहेको छ । क्लब स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय छ ।
क्लबले यसअघि गत असोजमा हेटौंडाको पर्यटकिय स्थलहरुको प्रचार प्रसारको लागि सम्पदा यात्रा र गत कार्तिकमा २१ गते देखि ९ दिने डोल्पाको यात्रा गरेको थियो । ४१ सदस्य रहेको क्लबले पर्यटन, खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबका सचिव मनोज कुमार गौतमको भनाई छ ।


















