मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा आज दिउँसो ट्रक र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
दिउँसो साढे २ बजेको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उक्त दुर्घटनामा परी स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी ५१ वर्षीय मोति बहादुर क्षेत्री गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा दिउँसो ३ः२० बजे डाक्टरले मृत घोषणा गरेको र उनको शव हेटौँडा अस्पतालमै राखिएको छ ।
यस्तै, दुर्घटनामा परेर सोही स्कुटरको पछाडी सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ गम्भीर घाइते भएकी छन् । उनको टाउको, अनुहार, हात र खुट्टामा चोट लागेको छ । घाइते गुरुङलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था गम्भीर भए पनि होसमा रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
उक्त दुर्घटनामा संलग्न ट्रक चालक सप्तरीको बोर्डरसाई नगरपालिका–२ निवासी ३५ वर्षीय अशोक यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















