हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको रातोमाटे चार्जिङ पोइन्ट नजिकै आज बिहानै लहरी ट्रक दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी प्रवक्ता अर्यालका अनुसार, बिहान साढे २ बजेको समयमा भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीका लागि कोइला बोकी हेटौँडातर्फ आइरहेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक ब्रेकफेल भई अनियन्त्रित भएर सडकको दाहिने किनारमा पल्टिएको थियो। दुर्घटनापछि तत्कालै प्रहरी चौकी रातोमाटे र ट्राफिक टोली घटनास्थल पुगेको थियो ।
ट्रक पल्टिँदा चालक र सहचालक दुबै गाडीभित्र च्यापिएका थिए । दुबै जनालाई उद्धार गरि उपचारको लागि हेटौँडा अस्पताल पठाइएको थियो ।
तर, ट्रक चालक भारतको गाजीपुर, पुरैनियाका अन्दाजी ४५ वर्षीय महेन्द्र यादवको उपचारको क्रममा मृत्यु भएको छ । अवस्था गम्भीर रहेका यादवलाई प्रहरी टोली र दुई वटा क्रेनको सहयोगमा बिहान ४:४५ बजे उद्धार गरेर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले बिहान ५:४५ बजे मृत घोषणा गरेको प्रहरी प्रवक्ता अर्यालले बताए ।
यस्तै, दुर्घटनामा ट्रकका सहचालक भारत गाजीपुरका अन्दाजी २६ वर्षिय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ । घाइते उनको अवस्था सामान्य घाइते रहेको प्रवक्ता अर्यालले बताए ।
मृतकको चालकको शव हाल हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनाग्रस्त ट्रकलाई घटनास्थलबाट साइडमा लगेर राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रवक्ता अर्यालले बताए ।

















